Advertisement

शब्दवर्ग/ पदवर्ग

Visits

शब्दवर्ग/ पदवर्ग

sabdabarga-padbarga-nepali-byakaran
  एक वा एक भन्दा बढी वर्णहरुबाट बनेको स्वतन्त्र रुपमा प्रयोग हुन सक्ने भाषाको अर्थ युक्त एकाइलाई शब्द भनिन्छ | शब्द जब वाक्यमा प्रयोग हुन्छ तब त्यसलाई पद भनिन्छ | यस्ता पद वर्गहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :–

क) नाम –

कुनै व्यक्ति,वस्तु,र अवधाराणा जनाउने शब्दहरुलाई नाम भनिन्छ | यस्ता नामहरु व्यक्ति वाचक,जाति वाचक,समूह वाचक,द्रव्य वाचक,र भाव वाचक गरी पाँच प्रकारकाहुन्छन् |

-व्यक्तिवाचक:- नेपाल, गोपाल,दशैं,सगरमाथा,विराटनगर आदि
-जाति वाचक :- देश,मानिस,चाड,हिमाल, जनावरआदि
-समूह वाचक :- ताँती, झुप्पा, भीड, फौज, पल्टन, वर्ग आदि
- द्रव्य वाचक :- नुन,सुन,चिनी,पानी,तेल,घ्यू, आदि
- भाव वाचक :- दया,माया,हर्ष,खुशी,पढाइ,लेखाइ, आदि

ख) सर्वनाम –

    नामको सट्टामा प्रयोग भई नामको सरह काम गर्ने शब्दलाई सर्वनाम भनिन्छ |सर्वनामपाँच किसिमका छन् |

 -पुरुष वाचक :- म,हामी,तँ,तिमी,तपाईं,हजुर,ऊ,उनी,ती,तिनी,यी,यिनी,यो,त्यो,यिनीहरु आदि |
 -सम्बन्धवाचक:- जुन,जे,जो,जुनसुकै,जेसुकै,जोसुकै,कोही,केही,कुनै आदि |
 -दर्शकवाचक:- यो,यी,यिनी,त्यो,ती,तिनी, आदि |
 -प्रश्न वाचक :- को,के,कुन,कोको,केके,कुन कुन आदि |
 -निज वाचक :- आफू,स्वयम्,आफैँ,निज आदि |

ग) विशेषण –

        नाम वा सर्वनामको विशेषता बुझाउने शब्दलाई विशेषण भनिन्छ | नाम वा सर्वनाममा कति,कस्तो,कत्रो,कुन,कसको,जस्ता प्रश्न गर्दा आउने उत्तरहरु विशेषण हुन्छन् |

-गुणबोधक:- अग्लो,ठूलो,सानो,गाउँले,जङ्गली,पाल्पाली,प्राचीन,मासिक
विगत,कालो,निलो,सफा,हराभरा,फलामे,पन्यालो,उत्कृष्ट,निपूर्ण,सार्वजानिक आदि |
-परिणामबोधक:-धेरै,थोरै,आधा,कम,प्रशस्त,निकै,यथेष्ट,सबै,सम्पूर्ण आदि |
-सङ्ख्याबोधक :- एक,दुई,पचास,लाख,चौथो,पाँचौ,पचासौं,प्रत्येक,हरेक  आदि |
-सर्वनामिक:- यो भकुण्डो,जे काम,जुन ठाउँ,केही मान्छे,ती रुख आदि |
- भेदक:- मन्दिरको देश,हाम्रो संस्कृति,आफ्नी बहिनी आदि |
- कृदन्त :-धातुमा एको,एकी,एका,दो,ने प्रत्याय लागेर निर्माण हुने :
    लेखेका,उठेकी,बस्दो,लेख्ने आदि |

घ) क्रियापद

क्रियापदले कर्ताले गरेको काम,घटेको घटना,परिस्थिति वा अवस्था विशेषलाई सङ्केत गर्दै वाक्यलाई टुङ्ग्याउंछ,|

जस्तै:
पढ्यो, गर्छन्, खेल्दैछन्, बसेकाछन्, गएछ, पढ्थे आदि |

ङ) क्रिया विशेषण

           समय, स्थान, कामको तरिका तथा कारण बुझाउने शब्दलाई क्रियाविशेषण भनिन्छ| यसलाई क्रियायोगी पनि भनिन्छ | क्रियाविशेषणले क्रियाविशेषणको विशेषता बुझाएको हुन्छ | जस्तै:
आज,भोलि,हिजो/तल,माथि,वर,पर,अगाडि,पछाडि/

विस्तारै,सुस्तरी,राम्ररी,जोडले,लुसुक्क,भुसुक्क,कपाकप,फटाफट,पढ्न,खान,सुत्न,हाँस्न,र धातुमा इ/एर/न/तै/दै/ता/दा/नाले/इन्जेल/उन्जेल/अरी प्रत्याय लागेर बनेका शब्द क्रियाविशेषण हुन्छन् |

च) नामयोगी

          नामिक शब्द (नाम,सर्वनाम र विशेषण) समय,स्थान,रीति,अवधि,
दिशा,अभाव,जस्ता अर्थ बुझाउने शब्दलाई नामयोगी भनिन्छ |

जस्तै:
अघि,पछि,तल,माथि,भित्र,बाहिर,अनुसार,बमोजिम,सम्म,पर्यन्त,तिर,तर्फ,विना,बाहेक,सिवाय,सित,सँग आदि |

 छ) संयोजक

दुई वा सो भन्दा बढी पद,पदावली,र उपवाक्यलाई जोड्न प्रयोग गरिने अव्यय शब्दलाई संयोजक भनिन्छ | संयोजक सापेक्ष र निरपेक्ष गरी दुई प्रकारका हुन्छन् |

 जस्तै:- जब,तब,भनी आदि सापेक्ष हुनभने र,वा,तर आदि निरपेक्ष हुन् |

ज) विस्मयादिबोधक

         आकस्मिक रुपमा कुनै काम भयो वा घटना घट्यो भने व्यक्तिले प्रकट गर्ने हर्ष,खुसी,घृणा,आश्चर्य,दु:ख,सुख,पीडा,आदि मानिसका मनमा उत्पन्न हुने मानसिक संवेगलाई विस्मयादिबोधक भनिन्छ|

जस्तै: अहो,अरे,आम्मै,आहा,कठै,बिचरा,ऐय्या,स्याबास,वाह,धत्तेरी,हत्तेरी,कसम,नाइँ,अहँ आदि |

झ) निपात

       आफ्नो स्वतन्त्र रुपमा केही अर्थ नभएका तर वाक्यमा प्रयोग भएपछि अर्थलाई चमत्कारी बनाउने पदहरुलाई निपात भनिन्छ |

जस्तै:
खै,पो,ट,नि,नै,रे,र,सायद,हँ,हगि,है,ल,ता, आदि |

By Manish Pokharel ( M. Ed in Nepali)

Post a Comment

0 Comments